यो ‘गुलाबी हिरा’को मूल्य थाहा पाउँदा तपाईं जिब्रो टोक्नुहुन्छ !

बिबिसी, फागुन ६
हिरा बहुमूल्य धातुमा पर्छ । त्यसोभए कुनै हिराको मूल्य कतिसम्म पर्ला ? तर, यहाँ ज्यादै महँगो हिराबारे चर्चा गरिएको छ ।

एक दुर्लभ गुलाबी हिरा ५० मिलियन डलर अर्थात् (नेपाली ५ अर्ब ७६ करोड रुपैयाँ) मा खरिद–बिक्री भएको छ । जब कि, प्रतिक्यारेट मूल्यको हिसाबले यो हिराको मूल्य विश्वकै कीर्तिमानी हो ।

यस्तो हिराको नाम ‘पिंक लेगेसी’ हो । यसको तौल तौल १९ क्यारेट छ । यसलाई अमेरिकी ब्रान्ड ह्यारी विन्स्टनले जेनेभामा भएको एक लिलामी बजारबाट खरिद गरेका हुन् ।

क्रिस्टिज अक्सन हाउसको युरोपका प्रमुखले भनेका छन्, ‘हिराको प्रतिक्यारेट मूल्यको हिसाबले यसले विश्वरेकर्ड स्थापित गरेको छ ।’

हिराको लिलामी सुरु भएको ५ मिनेटभित्र नै यसलाई खरिद गरिएको थियो । नयाँ मालिकले यसलाई ‘विन्स्टन पिंक लेगेसी’ नाम दिएको उल्लेख छ ।

सबैभन्दा शानदार हिरामध्येको एक !

यो हिरा डि बियर्स उत्खनन कम्पनी चलाउने ओपेहाइमर परिवारको सम्पत्ति थियो । क्रिस्टिज अक्सन हाउसका इन्टरनेसनल हेड अफ जुलरी राहुल कडाकिया भन्छन्, ‘यसलाई संसारको सबैभन्दा शानदार हिरा गनिन्छ ।’

उनले भनेका छन्, ‘यसको गुलाबी रङ एक क्यारेट हिरामा पनि निकै सजिलै देख्न सकिन्छ । तर, यो हिरा लगभग १९ क्यारेटको छ । र, पूर्ण रूपमा गुलाबी छ । यो अविश्वनीय छ ।’

यसलाई रंगको गाढापनको सबैभन्दा उच्च श्रेणी ‘फेन्सी विविड’ मा राखिएको छ । यो हिरा दक्षिण अफ्रिकामा १०० वर्षअघि भेटिएको थियो । क्रिस्टि अक्सन हाउसका अनुसार सन् १९२० पछि सम्भवतः यसलाई दोस्रोपटक काटिएको छैन ।

प्रकाशित मिति ६ फाल्गुन २०७५, सोमबार ०४:४६
Loading...