हाम्रो खानेकुरामा बिसादी नै विषादी !

हाम्रो खानेकुरा कति शुद्ध होला ? शहरमा बेचबिखन हुने सागसब्जी र अन्न कति अर्ग्यानिक होला ? हाम्रो भान्सासम्म आइपुग्ने अन्न, सागसब्जी, फलफूलको शुद्धतामाथि हामी ढुक्क हुनसक्ने अवस्था नै छैन । कतिसम्म भने, ‘अर्ग्यानिक उत्पादन’ भनी बेचबिखन गरिने खानेकुरामा समेत हामीले शंका गर्नुपर्ने अबस्था छ । किनभने हामीकहाँ पूर्णत अर्ग्यानिक एवं शुद्ध खानेकुरा उपलब्ध नै नभएको बताईन्छ ।

महिनौं लगाएर रासायनिक मल पनि प्रयोग नगरी उत्पादन गरेको तरकारी एवं फलफूललाई हामीले पूर्ण प्राङ्गारिक खाद्य पदार्थको रुपमा व्याख्या गरेर बजारमा बिक्री गर्ने गर्छाैं । आइएसओ मान्यताप्राप्त प्रयोगशालामा परीक्षण गराएपछि उपभोक्ताहरु पनि ढुक्क भएर त्यसको प्रयोगमा लाग्छन् । तर, यति हुँदाहुँदै पनि हामीले खाने तरकारी एवं फलफूलहरु भने अर्ग्यानिक शून्य हुने गरेको पाइएको छ ।

विकसित मुलुकहरुमा अर्ग्यानिक परीक्षणका दुईवटा प्रमाणपत्रहरु हुने गर्छन् । आइएसओले प्रमाणित गरेको एक किसिमको प्रयोगशाला हुन्छ भने अर्काे स्वतन्त्र निकायको रुपमा रहेको अर्ग्यानिक सर्टिफायड संस्थाहरुले तोकेको अर्काे किसिमको प्रयोगशालाले पनि कुनैपनि उत्पादनको अग्र्यानिक अवस्थाको परीक्षण गर्नेगर्छ ।

आइएसओद्वारा प्रमाणित प्रयोगशालाले कतिसम्म विषादीको मात्रा भएको तरकारीलाई बजारमा पठाउन सकिन्छ ? भन्ने विषयमा परीक्षण गर्छ । यसमा सीमित मात्रामा भएको विषादीलाई स्वीकार गर्ने गरिन्छ । तर, अर्ग्यानिक प्रमाणित गर्ने अर्काे किसिमको प्रयोगशालाहरुले भने सरकारले तोकेको मापदण्डभन्दा पनि कम र सकेसम्म शून्य मात्रामा विषादी प्रयोग गरेको सामग्रीलाई मात्रै पास गराउने गर्छ ।

नेपाल हर्बल एण्ड हब्स प्रोडक्ट एसोसिएनका महासचिव सुशील ज्ञवालीका अनुसार अग्र्यानिक भनेर मेहनत गरेर तयार पारिएका जडिबुटीहरु समेत अर्ग्यानिक परीक्षणमा गैरअग्र्यानिक रहेको भेटिएको अनुभव सुनाउँछन् । किसानहरुले भण्डारण गर्ने र ढुवानीको क्रममा ध्यान नदिँदा पनि धेरै खाद्य बस्तुहरुको अग्र्यानिकपना हराउने गरेको उनको बुझाई छ ।

रसायन शास्त्र केन्द्रीय विभागका उपप्राध्यापक अच्युत अधिकारीका अनुसार कुनैपनि औषधि, फलफूल र तरकारी आदिको उत्पादन गर्दाको हावापानी, ढुवानी गर्दाको अवस्था र त्यसको भण्डारणमा प्रयोग गरिएका सामग्रीहरुको आधारमा पनि यसको अर्यानिक अवस्था हेरफेर हुने दाबी गर्छन् । माटो विशेषज्ञहरुका अनुसार कुन ठाउँको माटोमा कस्तो किसिमको पानी प्रयोग गर्ने ? भन्ने कुराले पनि पूर्ण अर्ग्यानिक अवस्थालाई असर गर्ने गरेको सुनाउँछन् ।

एशोसिएसनका महासचिव ज्ञवाली सम्झन्छन् ‘जाजरकोट र प्युठानका किसानहरुले बडो मेहनत गरेर जडिबुटीको लागि अर्यानिक सामग्रीको रुपमा गरेको उत्पादन पनि धेरै पटक प्रयोगशालामा फेल भएको छ । यसमा किसानहरुले जानाजान त्यस्तो गल्ती गरेको देखिँदैन । कुरा बुझ्दै जाँदा त एउटै बोरामा एक दिन रसायनिक मल बोक्ने र अर्काे दिन उत्पादित सामग्री बोक्ने गरेका कारण पनि यसमा समस्या सिर्जना भएको रहेछ ।’ ज्ञवालीले कुन् उत्पादनको लागि कस्ता जनावरहरुको मल प्रयोग गर्ने ? भन्ने कुराले पनि यसलाई असर गर्ने गरेको उनले अनुभव सुनाय ।

विसं २०२० को दशकमा कृषि क्षेत्रमा एउटा ठूलै क्रान्तिको रुपमा सुरु भएको थियो रसायनिक मलको प्रयोग । यसमा सहयोग गरेको थियो अमेरिकी सरकारले । जसमा ठूलो मात्रामा पोटास र युरिया लगायत रासायनिक मलको नेपालमा प्रयोग हुन थाल्यो । यसले उत्पादनमा त क्षणिक नाफा गरेको देखिन्छ । तर, यसले अर्यानिक खानामा रुचि राख्ने मानिसहरुको चाहानालाई भने मार्दै लगेको जानकारहरु बताउँछन् ।

यही रसायनिक मलको नाममा बिषादीहरु गाउँघरमा पुग्यो । त्यहाँ बोरामा मल बोकेर त्यही बोरामा सबै किसिमका सामानहरु राख्ने परिपाटी अहिले पनि गाउँघरमा प्रशस्तै पाइन्छ । यसले अर्ग्यानिकलाई भने समाधिस्थलमा पुर्‍याएको धेरैको बुझाई छ । महासचिव ज्ञवाली भन्छन् ‘अहिले अर्ग्यानिक कुरा नेपालमा खोज्ने हो भने दुई किलो गाँजर पाउन पनि सम्भव छैन ।

प्रयोगशालामा बेच्न मिल्नेसम्म विषादी भएको उत्पादनलाई बजारमा पठाउने स्वीकृति दिइन्छ । तर, पूर्ण अर्ग्यानिक उत्पादन नेपालमा शून्यप्रायः नै छ ।’

किसानहरुलाई सचेत गराउने र उनीहरुलाई तालिम दिने जिम्मेवारी जति सरकारको छ । अग्र्यानिक सामग्रीहरुको उत्पादन गर्ने सवालमा त्यत्ति नै जिम्मेवारी व्यापारीको पनि हुन्छ । तर, व्यापारीहरुले किसानलाई यसको प्रयोगबारे सिकाउन नसक्दा उनीहरु आफैं ठगिने गरेको देखिन्छ ।

जानकारहरुका अनुसार कुनैपनि उत्पादनलाई अर्ग्यानिक प्रमाणित गराउनको लागि एक वर्षमा करिब ८ लाख रुपैयाँसम्म खर्च लाग्छ । नेपालमा यसको परीक्षण नहुनेभएपछि यसलाई विदेशमा पठाउँदा धेरै खर्च लाग्ने गर्छ । तर, त्यसमा पनि प्रयोगशालामा फेल हुँदा किसानसँगै व्यापारीहरु समेत समस्यामा पर्ने गरेको उनीहरु बताउँछन् ।

अर्ग्यानिक शून्यताबारे के भन्छ विभाग

खाद्य प्रविधिको गुण नियन्त्रण सम्बन्धी कामको जिम्मेवारी पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने अर्ग्यानिक बारे आफूहरुले बताउन नसक्ने बताउँछ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले विषादीको मात्रा कति छ ? भन्ने विषयमा विभागले अध्ययन गर्ने गरेको भएपनि त्यसको अर्यानिकबारे विभागले केही अध्ययन नगर्नेे बताए ।

नेपालमा अर्ग्यानिक परीक्षण गर्ने प्रयोगशाला नभएको भन्दै उनले त्यही प्रयोगशालामार्फत् तोकिएका आधिकारिक अडिटरहरु मार्फत् यसको परीक्षण हुने उनले बताए । ती प्रयोगशालाहरुले पनि अर्ग्यानिक खानाको अवस्थाभन्दा पनि प्रक्रियाको विषयमा अध्ययन गर्ने उनले जानकारी दिए । तर, प्रक्रियागत रुपमा धेरै कमजोरी हुने भन्दै नेपालमा पूर्ण अर्ग्यानिक खाना पाउन मुस्किल नै रहेको उनी बताउँछन् ।

प्रकाशित मिति ५ फाल्गुन २०७६, सोमबार ०६:०३
Loading...