पुन निर्माण भयो पर्यटकीय स्थल ताप्लेको अकला मन्दिर

२०७२ को भुकम्पले क्षती पुगेको गोरखा नगरपालिका वडा नम्बर १ ताप्लेको अकला मन्दिर पुन निर्माण भएको छ । स्थानीयले चन्दा उठाएर र नगरपालिकाको सहयोगमा उक्त मन्दिर पुन निर्माण भएको हो । मन्दिरको मंगलवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले उद्घाटन गरे ।

मन्दिर उद्घाटन गर्दै नगरप्रमुख पन्तले स्थानियको सक्रियतामा मन्दिर निर्माण हुनु गौरबको कुरा भएको भन्दै वडामा हुने अन्य बिकास निर्माणका काममा पनि सक्रिय हुन अनुरोध गर्नुभयो । गोरखा नगरपालिकाको पाँच लाख र स्थानीयबाट नौ लाख रुपैयाँ जुटाएर मन्दिर निर्माण गरिएको वडा अध्यक्ष हिक्मत बहादुर कुँवरले बताउनुभयो । मन्दिरका लागि जग्गा पनि स्थानीयले दान दिएका थिए ।

मन्दिर निर्माणका लागि होमबहादुर केसी र तोरण केसीले एक लाख ४० हजार, कल्पना भट्ट, डिल्लिराम भट्ट,बेलमाया भट्टले ६६ हजार छ सय ६६ र प्रेमबहादुर मल्लले ५० हजार पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका थिए । ५० हजार भन्दाबढि सहयोग गरेकाहरुलाई नगरप्रमुख पन्तको हातबाट प्रसंसा पत्रले सम्मान गरिएको थियो ।

मन्दिर निर्माणमा सहयोग गर्ने अन्य स्थानीयालाई पनि प्रमाण पत्र बितरण गरिएको वडा अध्यक्ष कुँवरले बताए । ध्वजा पतका, अकलादेवीको मुर्ती, सुनौलो गजुरले मन्दिर निकै मनमोहक देखिएको थियो ।

मंगलवार राती अवेर सम्म नाचगान गरि स्थानीयले मन्दिरमा पुजापाठ गरेका छन् । उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य कमला भट्ट, अकलादेवी मन्दिर पुन निर्माण समिति अध्यक्ष कमल प्रसाद पनेरु लगायतले आफ्नो आफ्नो मन्तब्य राखेका थिए ।

प्रकाशित मिति २ माघ २०७६, बिहीबार ०४:५२
Loading...